जनकपुरधाम । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले कानूनको अधिनमा रही जनतालाई सेवा दिन सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।
धनुषाको दुहवी महिनाथपुर सिमानाकामा सशस्त्र प्रहरीले जनतालाई अनावश्यक रूपमा सास्ती दिएको खबर बाहिर आएपछि मंगलबार उक्त सिमानाका निरीक्षण गर्दै मन्त्री लेखीले त्याहाँका सुरक्षा अधिकारीहरुलाई यस्तो निर्देशन दिएका हुन ।
सिमाक्षेत्रमा व्यापक रूपमा तस्करी भइरहेको जनगुनासो आएपछि मन्त्री लेखी निरीक्षणका लागि धनुषाको महिनाथपुर सिमानाका पुगेका थिए । सो क्रममा उनले तस्करी नियन्त्रणमा तदारुकताका साथ लाग्न सुरक्षाकर्मीहरूलाई निर्देशन दिनुभयो ।
निरीक्षणका क्रममा सशस्त्र प्रहरी सीमा सुरक्षा बेस क्याम्प महिनाथपुर गुल्मका प्रमुख डिएसपी सुरज रिजालले मन्त्री लेखीलाई सिमाक्षेत्रको अवस्था र सशस्त्र प्रहरीले गर्दै आएको कामबारे जानकारी गराएका थिए ।
दुई दिनअघि धनुषाको दुहवीमा स्थानीय जनप्रतिनिधि र स्थानीयवासीले सशस्त्र प्रहरीको कामकाजप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरेका थिए । सो क्रममा नेपाल रेल्वेको सेवा केही समयका लागि अवरुद्धसमेत भएको थियो । सोही घटनालाई गम्भीर रूपमा लिँदै गृहमन्त्री लेखीले तत्काल सिमानाकाको निरीक्षण गरेका हुन् ।