जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार साहलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ ।
उच्च अदालत जनकपुरले कामकाजमा अवरोध नगर्न आदेश दिएपछि आइतबार उनी कार्यालय पुगेका थिए । तर विरोधका कारण प्रवेश गर्न सकेनन् ।
सयौँको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षामा कार्यालय पुगेका साहलाई नगरपालिकाका कर्मचारीहरूले मूल ढोकामै अवरोध गर्दै नाराबाजी गरे । तीव्र विरोधपछि उनले कार्यालय प्रवेश नगरी फर्किनुपर्यो ।
गत माघ २७ मा निम्न माध्यमिक तहकी शिक्षिका पवन कुमारीलाई नगरपालिकामा हाजिर गराएपछि नगर प्रमुख बेचन दासका छोरा रामभजनले ‘बुबालाई जानकारी नगराई हाजिर गराएको’ भन्दै अधिकृत साहलाई कार्यकक्षमै कुटपिट गरेका थिए ।
भोलिपल्ट अधिकृत साहले नगर प्रमुख दास समक्ष छोराको व्यवहारबारे गुनासो गरे । तर, नगर प्रमुखले उल्टै धम्की दिएपछि साह उच्च अदालत जनकपुर पुगे ।
अदालतले फागुन १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । छलफल नभएसम्म साहलाई कार्यालयमा निर्बाध रूपमा काम गर्न दिन आदेश दिइएको छ ।
नगर प्रमुख दाससँगको विवाद बढेपछि अधिकृत साहले ८३ जना करार र दैनिक ज्यालादारी कर्मचारीलाई हटाएका थिए । साथै, केही स्थायी कर्मचारीको ग्रेड रोक्का गर्ने निर्णय गरेका थिए ।
यिनै हटाइएका कर्मचारीहरूले आइतबार कार्यालय प्रवेशमा अवरोध गरेका हुन् । उनलाई सुरक्षाकर्मीको साथमा कार्यालय प्रवेश गराउन प्रयास गरिए पनि मुख्य ढोकामै विरोध जारी रहेकाले उनी फर्किन बाध्य भए ।
प्रवेश नपाएपछि साहले भने, अदालतको आदेशपछि सिडिओ साहेबले सुरक्षा दिनुभयो, तर झोले कर्मचारीहरू आन्दोलन गरिरहेका छन् । जबरजस्ती नगरी नगरपालिकाको पवित्र माटोलाई ढोगेर टीका लगाइ फर्किएँ ।