जनकपुरधाम । मधेश प्रदेश सरकारले जनकपुरधाममा रहेका निजी अस्पतालको अनुगमनलाई शुक्रबार पनि निरन्तरता दिएको छ । मुख्यमन्त्री सतिश कुमार सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहको नेतृत्वको अनुगमन टोलीले शुक्रबार थप पाँच निजी अस्पतालमा अनुगमन गरेको छ ।
अनुगनको क्रममा दुई अस्पताल नवीकरण नगरी सञ्चालन गरेको तथा अन्य दुई अस्पतालमा आवश्यक कागजात नरहेको भेटिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । रेल्वे स्टेशननजिक रहेको ५० बेडको जनकपुर सिटी हस्पिटल र धनुषा अस्पताल दर्ता रहे पनि नवीकरण फेल भएको पाइएको छ ।
सिटी अस्पतालमा कार्यरत कर्मचारीको तलब विवरण तथा कानुनअनुसार गरीब, दलित र सीमान्तकृतलाई दिइने छुटसम्बन्धी विवरणसहित आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।
धनुषा अस्पताल पनि नवीकरण नरहेकाले विवरण लिएर उपस्थित हुन मुख्यमन्त्री सिंहले निर्देशन दिएका हुन् । यस्तै, कदमचोकस्थित न्युरो सेन्टर र विनयतारा फाउन्डेसन क्यान्सर अस्पतालले अनुमति लिएको कागजात देखाउन नसकेकाले आइतबार कागजात लिएर उपस्थित हुन मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।
अनुगमनका क्रममा मुरलीचोकस्थित जनकपुर न्युरो अस्पताल भने दर्ता रहेको पाइएको छ । यसअघि मुख्यमन्त्री सिंहले जनकपुरधामका २६ वटा निजी अस्पतालको छड्के अनुगमन गरिसकेका छन् । जसमा दर्ता नरहेका पाँचवटा अस्पताल बन्द भइसकेको छ ।
पछिल्लो समय जनकपुरमा विना दर्ता अस्पताल संचालन गर्ने, उपचारमा लापरबाही गर्ने, मनपरी शुल्क असुल्ने जस्ता गतिविधि बढिरहेको समाचार संचारमाध्यममा आएपछि मधेश सरकारले छड्के अनुगमन थालेको हो ।