काठमाडौं । नेपालमा बियरको खपत बढेसंगै राजश्व संकलन पनि बढेको छ । बियरबाट सरकारलाई ६ महिनामै १७ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन भएको हो ।
नेपाली उद्योगले नै उत्पादन गर्ने बियरको खपत ६ महिनामै ३८.३१ प्रतिशतले बढेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष बियर, मदिरा, सुर्तीजन्य पदार्थको उत्पादन बढेको देखिन्छ।
गत वर्ष साउनदेखि पुस मसान्तसम्म १२ अर्ब ४७ करोड रुपैयाँ अन्तःशुल्क उठेकोमा करिब ५ अर्ब बढी राजस्व संकलन भएको थियो । मदिरातर्फ गत वर्ष १२ अर्ब १३ करोड रुपैयाँ अन्तःशुल्क संकलन भएकोमा अहिले २६.६४ प्रतिशतले बढेको छ ।
६ महिनामा मदिरा उत्पादनबाटै १५ अर्ब ३६ करोड रुपैयाँ अन्तःशुल्क संकलन भएको छ । सुर्तीजन्य पदार्थमा गत वर्ष १२ अर्ब ९२ करोड रुपैयाँ उठेकोमा अहिले १३ अर्ब ७९ करोड रुपैयाँ सकलन भएको छ ।
गत वर्षको तुलनामा सरकारले केही दर बढाएकाले सुर्तीको उत्पादन उस्तै देखिए पनि बियर र मदिराको उत्पादन केही बढेको राजस्वका अधिकारीहरुको दाबी छ ।