जनकपुरधाम । मिथिलाको बहुचर्चित माध्यमिक परिक्रमा महोत्तरीको मटिहानी पुगेको छ ।
धनुषाको कचुरीस्थित मिथिला विहारी कुटीबाट मिथिला विहारी तथा जनकपुरस्थित अग्नि कुण्डका किशोरीको डोलाकासाथ धार्मिक विधिअनुसार जानकी मन्दिरहुँदै धार्मिक झाँकी भजनकीर्तन सहित सुरू भएको परिक्रमा आज मटिहानी पुगेको हो ।
बाजागाजा, साधु, नागा, नाचगानका साथ भगवान् राम र माता जानकीको डोला लिएर हजारौं सङ्ख्यामा महोत्तरीको मटिहानी पुगेका परिक्रमा टोलीलाई नगरवासीले भव्य स्वागत गरेका छन् ।
मटिहानीमा माता सीताको विवाहको बेला मटकोर विधि भएको सम्झना गर्दै यहाँ परिक्रमाको तेस्रो पराव रहँदै आएको छ । मटिहानीमा प्रसिद्ध लक्ष्मी नारायण मठ, लक्ष्मी सरोवर रहेको छ भने यसले प्राचीनकालको दर्शन गराउँछ ।
परिक्रमा यात्री आएकाले आज मटिमानी नगरपालिकाले सार्वजनिक विदा पनि दिएको छ । यहाँ लक्ष्मीनारायण मठले निःशुल्क भोजन, पानी, दाउरा, बिजुली र बासको व्यवस्था मिलाएको मटिहानीका मेयर हरिप्रसाद मण्डलले जानकारी दिए ।