राजसंस्थाको पक्षमा बढ्दो जनलहर के छ दरबारको मार्गचित्र??
राजनीतिक दलहरूसँग नयाँ समझदारी गर्ने पूर्वराजाको इच्छा, नातिलाई अघि नसार्ने
काठमाडौं । राजसंस्था पुन:स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजो काठमाडौंमा मोटरसाइकल र्याली आयोजना गर्यो । उक्त र्यालीमा देखिएको उपस्थिति गणतन्त्रवादी शक्तिहरूलाई झस्काउने खालको थियो ।
पहिलो पटक राजावादी व्यवसायी दुर्गा प्रसाईँ राप्रपाको र्यालीमा मिसिए । उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँगै सडकमा देखा परेका थिए । फरक अभियानको नेतृत्व गरिरहेका प्रसाईँको यो उपस्थितिले राप्रपाका नेता-कार्यकर्ता बनेका उत्साहित छन् । त्योभन्दा बढी उत्साह चाहिँ र्यालीमा देखिएको जनसहभागीलाई लिएर छ ।
राप्रपाले आयोजना गरेका पछिल्ला केही कार्यक्रमहरूमा भिड बढ्दै गएको यथार्थलाई नकार्न सकिने अवस्था छैन । पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा गरेको सम्बोधनमा देश बचाउनका लागि आफूलाई साथ दिन आग्रह गरेका थिए । त्यसपछि राप्रपा जागेको छ । राप्रपाले राजाको उक्त सम्बोधनपछि पोखरा, बुटवल, धनगढी, नेपालगञ्ज हुँदै काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो ।
राप्रपाका सबै प्रदर्शनहरूमा जनताको बाक्लो उपस्थिति देखिनुले गणतन्त्रवादी शक्तिहरू चिन्तामा परेका छन् । कतै यसले ठूलो रूप लिएर देशमा राजसंस्था पुनर्स्थापनाको माहोल बन्ने त होइन भन्ने त्रास उनीहरूमा फैलिएको छ । कतिपय नेताहरू मुखर भएर पूर्वराजाका विरुद्ध बोल्न पनि थालेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त पूर्वराजालाई सरकारले नियन्त्रणमै लिनुपर्ने अभिव्यक्तिसमेत दिए ।
पूर्वराजा फेरि नारायणहिटीको सिंहासनमा फर्किन चाहन्छन् भन्ने उनको पटक-पटकको सम्बोधनबाट स्पष्ट भइसकेको छ । तर, उनको मार्गचित्र चाहिँ स्पष्ट भएको छैन । आफूलाई साथ दिन आह्वान गरे पनि कसरी साथ दिने भन्नेमा राजावादी शक्तिहरू अलमलमा छन् । यद्यपि, राप्रपाको नेतृत्वमा राजसंस्था समर्थक सबै शक्तिहरूलाई एकीकृत बनाएर सडकमा उतार्ने पहलहरू भने भइरहेका छन् । हिजोको र्यालीमा दुर्गा प्रसाईँको उपस्थिति यसैको संकेत हो ।
राप्रपाले केही समयअगाडि नै सबै राजावादी शक्तिहरूलाई संगठित गर्ने हेतु वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नेतृत्वमा एउटा समिति बनाएको थियो । उक्त समितिले विभिन्न सातवटा संगठन र समूहहरूसँग वार्ता पनि गर्यो । तर, सहमतिमा पुग्न सकेन । मिश्रले फेरि उक्त संवादलाई निरन्तरता दिने कसरत गरिरहेका छन् । स्रोतका अनुसार केही दिनअघि उनले पूर्वराजासँग भेटघाट र छलफलसमेत गरेका थिए ।
राजावादी शक्तिहरू अब २५ फागुनमा हुने पूर्वराजाको ‘काठमाडौं फिर्ती सवारी’ लाई भव्य बनाउने तयारीमा जुटेका छन् । राप्रपाले त्यही दिन काठमाडौंमा आयोजना गर्न लागेको सभा समेत स्थगित गरेर पूर्वराजाको स्वागतमा होमिएको छ । त्यसदिन गणतन्त्रवादीको मुटुमा ढ्याङ्ग्रो ठोकिने गरी शक्ति प्रदर्शन गर्ने तयारी राप्रपाले गरेको छ । व्यवसायी दुर्गा प्रसाईँले विश्वस्त स्रोतको हवाला दिँदै २५ गते अगाडि नै पूर्वराजालाई नजरबन्दमा राख्ने तयारी सरकारले गरेको दाबी गरेका छन् । उनको दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन ।
‘दरबार’ निकट स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र फेरि शक्तिमा फर्किन सक्नेमा आशावादी बन्दै गएका छन् । देशभित्र आफ्नो पक्षमा बलियो माहौल बन्यो भने अन्तर्राष्ट्रिय समर्थनसमेत आफूले पाउने उनको विश्वास रहेको छ । उनले पटक-पटक भारत गएर राजनीतिक भेटवार्ताहरू गरेका थिए । साथै, भुटानको भ्रमण समेत गरे । भुटानमा पूर्वराजालाई ‘राजा’ कै हैसियतमा सम्मान मिलेको थियो ।
पूर्वराजाले अहिलेका राजनीतिक दलहरूसँगै नयाँ समझदारी गर्न चाहेको स्रोत बताउँछ । उनी जनमतसंग्रहमा जाने पक्षमा छैनन् । स्रोतले भन्यो, ‘जनमतसंग्रहमा जाने हो भने राजसंस्थाकै जित हुने निश्चित छ । तर, पूर्वराजाले आफ्नो नाममा जनतालाई विभाजित गर्न चाहिबक्सन्न । उहाँ राजनीतिक दलहरूसँग समझदारीकै पक्षमा होइबक्सिन्छ ।’
पूर्वराजाले आफूसँग राजनीतिक दलहरूले विगतमा गरेको सम्झौता कार्यान्वयन नगरेर आफूलाई धोका दिएको गुनासो गर्दै आएका छन् । अब पनि दलहरूसँग वार्ता र संवादका लागि उनी तयार रहेको स्रोत बताउँछ । ‘सरकारले कसैप्रति पूर्वाग्रह राखिबक्सेको छैन । दलहरू चाहन्छन् भने संवादका लागि तयार होइबक्सन्छ,’ स्रोतले भन्यो ।
पूर्वराजाले बाह्य शक्तिको दबाबमा नभएर देशभित्रै वातावरण बनाएर राजसंस्था पुनर्स्थापन हुनुपर्ने मनसाय व्यक्ति गरिरहेका छन् । स्रोत थप्छ, ‘नेपालमा बाह्य राजसंस्था मासिनुमा बाह्य शक्तिको भूमिका थियो । तर, राजसंस्थाको पुनर्स्थापनामा नेपालीहरूकै भूमिका हुनुपर्छ भन्ने राजाको मनसाय छ । विदेशीहरूको सद्भाव आवश्यक भए पनि उनीहरूको हस्तक्षेप हुनुहुँदैन भन्ने राजाको दृष्टिकोण हो ।’
कतिपयले पूर्वराजा आफ्नो साटो नाति हृदयन्द्रलाई राजा बनाउने गरी सम्झौता गर्न तयार रहेको भनेर चर्चा गरिरहेका छन् । तर, स्रोतले यो चर्चाको खण्डन गर्यो । उनी नातिलाई अघिसार्ने पक्षमा नरहेको स्रोतको भनाइ छ ।