लागुऔषधविरुद्ध महाअभियानलाई देशभर विस्तार गर्नुपर्नेमा गृहमन्त्री रमेश लेखकको जोड

Post Views: 9 काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका लागि लागुऔषधविरुद्धको महाअभियानलाई देशभर विस्तार गर्नुपर्नेमा जोड दिएका छन् […]

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका लागि लागुऔषधविरुद्धको महाअभियानलाई देशभर विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘लागुऔषधले केवल व्यक्तिका लागि मात्र नभएर परिवार र समग्र समाजको लागि पनि घातक असर पुर्याइरहेको छ ।’

शनिबार काठमाडौंमा उपत्यका प्रहरी कार्यालयले सुरु गरेको लागुऔषधविरुद्धको महाअभियान उद्घाटन समारोहमा गृहमन्त्री लेखकले लागुऔषधलाई युवामा नकारात्मक प्रभाव पार्ने र अपराधको दर वृद्धि गर्ने मुख्य कारणको रूपमा उल्लेख गरे ।

‘लागुऔषधले युवामा नकारात्मक असर पार्दै अपराध वृद्धि गरिरहेको छ । यसले समग्र समाजलाई खोक्रो बनाउनको खतरा उत्पन्न गरिरहेको छ,’ उनले भने ।

गृहमन्त्री लेखकले तीनै तहका सरकारलाई लागुऔषधविरुद्धको अभियानलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले विद्यालय तहसम्म लागुऔषध नियन्त्रणका लागि अभियान विस्तार गर्न पनि जोड दिएका छन् ।

‘यदि अहिले नै लागुऔषधको नियन्त्रणमा कडा कदम चालिएन भने दशदेखि पन्ध्र वर्षपछि एक पुस्ता गम्भीर रूपमा प्रभावित हुने सम्भावना छ,’ उनले चेतावनी दिए ।

गृहमन्त्रीले देशभर लागुऔषधविरुद्धको अभियानलाई प्रभावकारी बनाउनेतर्फ सरकारको कडा ध्यान गएको जानकारी दिएका छन् । यस अभियानलाई सबै तहका सरकारको साझा जिम्मेवारीका रूपमा लिने प्रतिबद्धतासमेत उनले जनाएका छन् ।

लागुऔषधविरुद्धको महाअभियानमा उपत्यका प्रहरी कार्यालय र अन्य संघसंस्थाहरूको सक्रिय सहभागिता रहनेछ । यस अभियानका माध्यमबाट सरकार लागुऔषधको प्रयोग र यसको बिक्रीवापारलाई न्यूनतम बनाउनका लागि विविध रणनीतिहरू लागू गर्ने योजना राखेको छ ।

गृहमन्त्री लेखले युवापुस्तामा लागुऔषधको प्रयोगको प्रचलन बढ्दै जानु चिन्ताको विषय बनेको भन्दै यसलाई रोक्न सबैको सामूहिक प्रयासको आवश्यकता रहेको बताए ।

यस अभियानले विद्यालयहरू, कलेजहरू र समाजका अन्य क्षेत्रहरूमा लागुऔषधविरुद्ध जनचेतना फैलाउने कार्यलाई प्राथमिकतामा राखेको छ । संस्कारयुक्त युवा पीढ़ी निर्माणको उद्देश्यले सरकारले यस अभियानलाई व्यापक स्तरमा विस्तार गर्ने योजना बनाएको हो ।

लागुऔषधविरुद्धको महाअभियानलाई देशभर फैलाउने र त्यसको प्रभावकारिता सुनिश्चित गर्न सरकारको कडा योजना छ ।

Scroll to Top