लागु औषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणमा अभिभावकको पहिलो दायित्व

Post Views: 39 • विपिन यादव जनकपुरधाम । हामीले सामान्य तरिकाले बुझ्दा बिभिन्न मादक पदार्थ, लागु तथा पेय पदार्थ जसले […]

• विपिन यादव
जनकपुरधाम । हामीले सामान्य तरिकाले बुझ्दा बिभिन्न मादक पदार्थ, लागु तथा पेय पदार्थ जसले मानिसको दिमागलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि पुर्याउँछ वा जसको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक स्थिति तथा शारिरीक स्थितिमा परिवर्तन हुन्छ त्यस्ता बस्तुहरूलाई लागु औषध भनिन्छ । लागु औषध नियन्त्रण ऐन, २०३३ अनुसार लागु औषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफीम, तैयारीको अफीम, औषधोपयोगी अफीम, कोकाको झार र पात, अफिम तथा कोकाको सारतत्व, मिश्रण वा लवण समेत मिसाई तयार गरिने पदार्थलाई सम्झनु पर्दछ । नेपालको कानुन अनुसार लागु पदार्थको अबैध ओसारपसार, संचय तथा प्रयोग गर्न बन्देज लगाईएको छ ।

आज भोलि हाम्रो गाउँघर, टोल, शहरमा लागु औषधको सेवन तथा बिक्रि वितरणको समस्या दिनानुदिन बढिरहेको छ । बिशेष गरि किशोर किशोरी, बिद्यालय तथा कलेजका बिद्यार्थीहरु बढि यसबाट प्रभाबित हुन पुगिरहेका छन् । देशका भविष्य मानिएका बिद्यार्थी तथा किशोर किशोरीहरु लागु औषध प्रयोगमा रकम जुटाउनको लागी चोरी, कुटपिट, डकैति, लुटपाट, हत्याहिंसा समेत गर्न पछि पर्दैनन् । अर्कोतर्फ लागु औषध प्रयोगकर्ताहरुको स्वास्थ्य कमजोर हुदैजाने भएकाले यसवाट ब्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै ठुलो क्षति भईरहेको छ ।

लागु औषधको दुर्व्यसनमा कुनैपनि व्यक्तिलाई फस्न नदिन वा त्यसबाट टाढा रहनबाट बच्न बचाउन सबैभन्दा महत्वपुर्ण र पहिलो भुमिका अभिभावकको रहन्छ । आफ्ना सन्तानहरुलाई सधै असल संस्कार र व्यवहार सिकाउन घरपरिवार तथा अभिभावकहरुको पहिलो दायित्व पनि हो । साना उमेरका बालबच्चाहरुले अभिभावकको बोलि व्यवहार, रहनसहन तथा खानपानको सिको समेत गर्ने हुँदा उनिहरुका सामु कुनैपनि नकारात्मक असर वा सिकाई पर्ने खालका व्यबहार गर्नु गराउनु वा देखाउनु हुँदैन ।

बिशेषगरि किशोर किशोरीहरूले किन लागु पदार्थ वा मदिरा प्रयोग गर्छन् भन्ने कुनै ठोस वा एकल कारण त छैन । तर अभिभावकहरुले आफ्ना सन्तानहरुको ईच्छा, चाहना, मानसिकता नबुझेर तथा हेलचेक्राई गर्दा किशोर किशोरीहरु दुर्व्यसनिमा फस्ने गरेको पाईन्छ । गरिबी कारण बालबालिकालाई स्कुल भर्ना गर्न नसक्नु र भर्ना गरिसकेपछि पनि उच्च शिक्षा दिन नसक्नु तथा रोजगारिको सिलसिलामा घर बाहिर रहने गरेका अभिभावकहरुले आफ्ना सन्तानहरुलाई प्रयाप्त समय दिन नसक्नु, सोधेका प्रश्‍न वा जिज्ञासाहरुको जवाफ दिन झर्को मान्नुका साथै रेखदेखमा कमि रहनु पनि कारण हो ।

कतिपय अभिभावकहरुले मादक पदार्थ सेवन तथा धुम्रपान गरी घरभित्र प्रवेश गर्ने तथा कतिपय अभिभावकहरुले बच्चाहरुको सामुन्यमा बसि घरमै मादक पदार्थ सेवन गर्ने र कतिपयले त बच्चाहरुलाई नै मध्यपान तथा धुम्रपानहरु खरिद तथा बिक्रिवितरण गर्न लगाउने पनि गरिरहेका हुन्छन् र यस्ता कुराहरुलाई सामान्य झै ठान्छन् । अझ हाम्रो समुदायको धर्म संस्कृतिमा त बच्चाहरुलाई सानै छँदा देखि रक्सि (ALCOHOL) पनि खुवाउने चलन छ । यस प्रकारका कृयाकलापले किशोर किशोरीहरुमा बच्चै देखि नकारात्मक सोचरुको बिकास भईरहेको हुन्छ र त्यसैको असर पनि गर्न सक्दछ ।

यदि भविष्यमा आफ्ना सन्तानहरुलाई लागु औषध जस्तो दुर्व्यसनिबाट बचाउनु वा जोगाउनु छ भने यस प्रकारका आफ्ना गल्तिहरु समयमै स्विकार र महसुस गरी व्यवहारमा परिनत गर्न एकदमै जरुरी छ । आफ्ना सन्तानहरुमा अभिभावकहरुको सबैभन्दा शक्तिशाली प्रभाव हुन्छ । जिवनका लागि उपयोगी शिक्षा, असल संस्कार, आचरण र व्यवहार सिकाउनु अभिभावको प्रमुख कर्तव्य हो । आफ्ना सन्तानहरु प्रति मनोमानि गर्नु वा गर्न दिनु भन्दा मित्रवत व्यवहार गरि तिनिहरुको ईच्छा, चाहनाहरुलाई ध्यानमा राखेर उचित कदम चाल्नु यकदमै आवश्यक हुन्छ । परम्परागत मुल्य मान्यता र धर्म संस्कृतिको महत्व बुझाउन पनि उत्तिकै जरुरी छ । बिभिन्न स्वास्थ्य, मनोरन्जनात्मक तथा खेलकुदका कार्यक्रमहरुमा सहभागि गराई त्यस प्रति प्रेरित गरि एक्लोपनको महशुस हुन गर्नबाट जोगाउनु पर्छ ।

साथै नसालु पदार्थको प्रयोग गर्नुको नकारात्मक असरको बारेमा जानकारी दिने । बिभिन्न सामाजिक सन्जाल, Facebook, TikTok, Television मा आफ्ना सन्तानहरुले के सुन्छन, देख्छन र के हेर्छन भन्ने कुराको जानकारी लिने । व्यक्तित्व बिकासमा सहयोग पुग्ने खालमा राम्रा र सकारात्मक प्रभाव पार्ने कार्यक्रम सुन्न र हेर्न प्रेरित गर्नुहोस । आफ्ना सन्तानहरुले गरेका साना गल्तिमा नरिसाई वा कुनै पनि झर्को नमानि समाधानका उपायहरुको बारेमा सिकाई बिकल्प र असल साथि बनाउन सहयोग गर्नुहोस । सकभर आफ्नो साथमै राख्नुहोस ।

यि यावत कुराहरु तपाई अभिभावकहरुबाट हुँदैमा कुनै निश्चित हुदैन कि तपाईंका सन्तानले व्यवहारमा उतारी लागु औषधको प्रयोग गर्दैनन् तर लागु औषध दुर्व्यसनिमा पर्ने सम्भावना कम हुन सक्छ ।

Scroll to Top