वडाध्यक्ष र सचिवको सेटिङमा सिरहामा भारतीयले लिए नेपाली नागरिकता

Post Views: 13 वडाध्यक्ष भन्छन्- सचिवले ठिक छ भनेपछि सही गरिदिएँ सन्तोष यादव जनकपुरधाम । नक्कली आमा-बुबा खडा गरेर एक […]

वडाध्यक्ष भन्छन्- सचिवले ठिक छ भनेपछि सही गरिदिएँ
सन्तोष यादव
जनकपुरधाम । नक्कली आमा-बुबा खडा गरेर एक भारतीय नागरिकले जिल्ला प्रशासन कार्यालय सिरहाबाट नेपाली नागरिकता लिएको खुलेको छ ।

भारत विहार राज्यको मधुवनी जिल्ला जयनगर ग्रामपञ्चायत देउधा टोलका मोसताक मियाँले नागरिकता बनाएका हुन् । ठेगानामा नरहा गाउँपालिका-३ सिरहा उल्लेख गरी उनले ०८० असार २६ मा नागरिकता लिएको पाइएको छ ।

उनको जन्ममिति २०५५ साउन १५ र नागरिकता नम्बर १५०१८०/४३६२ छ । नागरिकतामा बुवा अमानत मियाँ र आमा रजिना खातुनलाई कायम गरिएको छ । अमानत र रजिना श्रीमान-श्रीमती छन् । तर, मोसताक उनीहरूको छोरा नरहेको स्थानीयको दाबी छ ।

नरहा गाउँपालिका-३ का वडाध्यक्ष रुस्तम अन्सारी र वडासचिव रामदेव मण्डलको सेटिङमा भारतीय नागरिक मोसताकले नागरिकता प्राप्त गरेको भन्दै उजुरी पनि परेको छ ।

कागजात तयार गरेबापत वडाध्यक्ष र वडासचिवले मोटो रकम लिएको स्रोतले बतायो । जन्मदर्तादेखि सबै कागजात बनेपछि मोसताकले जिल्ला प्रशासन कार्यालयबाट सजिलै नागरिकता बनाएका छन् । नक्कली नागरिकता बनाएको उजुरी परेपछि मोसताक सम्पर्कविहीन छन् ।

बुबा बनेका अमानतले मोसताक आफ्नो छोरा नभएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘मेरो दुई छोरा छन् । मोसताक मेरो छोरा हैनन् । काम गराउन वडामा गएको बेला सचिवले सही गराएका थिए थाहै भएन ।’

वडासचिव मण्डलले भारतीय नागरिक मोसताकले नेपाली नागरिकता प्राप्त गरेकोमा आफ्नो गल्ती नरहेको बताउँछन् ।

उनले भने, ‘अमानत र रजिना वडा कार्यालयमा आएर एकैपटक तीन छोराको जन्मदर्ता बनाएका हुन् । त्यसकै आधारमा नागरिकताको सिफारिस भयो । अमानतलाई झुक्याएर सही गराई मोसताकको बुबा बनाएको कुरा झूठो हो ।’

यता, वडाध्यक्ष अन्सारीले भिडभाडको बेला मोसताकको नागरिकताको सिफारिस गर्दा गल्ती भएको बताए ।

‘सचिवलाई पठाएको थिएँ । उताबाट ठिक छ भनेर सिफारिस आएपछि मैले पनि हस्ताक्षर गरिदिएँ’, वडाध्यक्ष अन्सारीले भने ।

अन्सारीले मोसताक यहाँको मान्छे नरहेको थाहा पाएपछि तत्कालै सीडीओ अफिसमा उनको नागरिकता खारेज गर्न सिफारिस गरेको दावी गरे । अहिले विपक्षीहरू आफूलाई फसाउन षड्यन्त्रमा लागेको उनको भनाइ छ । अन्सारी एमालेबाट निर्वाचित हुन् ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले भारतीय नागरिक मोसताक नेपाली नागरिकता बनाएको विषयमा हिजो एकजनाले फोन गर्दा मात्र थाहा पाएको बताए ।

उनले भने, ‘सायद उजुरी पनि परेको छ । म तत्कालै फाइल खोज्न सम्बन्धित शाखाका कर्मचारीलाई निर्देशन दिइसकेको छु । अहिलेसम्म फाइल म कहाँ आइपुगेको छैन । आएलगत्तै आवश्यक अनुसन्धान तथा कारवाही अगाडि बढाउछौं ।’

उजुरी परेको लामो समयसम्म किन अनुसन्धान भएन? भन्ने जिज्ञासामा उनले भने, ‘अनुसन्धान हुनुपर्ने हो । तर, खै किन भएन? म आएको दुई महिनामात्र भएको छ । भोलि सीडीओ साहेब आउनुहुन्छ । उहाँसँग पनि एकपटक बुझ्नुहोला ।’