मधेसमा झर्दा माओवादी नेताहरुको ड्रेस चेन्ज-प्रचण्ड कुर्ता पैजमामा, मातृका धोती कुर्तामा

Post Views: 11 जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रायः कोट पाइन्ट लगाउँछन् । माओवादीका अधिकांश केन्द्रीय […]

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रायः कोट पाइन्ट लगाउँछन् । माओवादीका अधिकांश केन्द्रीय नेताहरु पनि प्रचण्ड जस्तै ड्रेसमा हुन्छन् ।

तर तराई-मधेस जागरण अभियानका लागि मधेस झरेका माओवादी नेताहरुको ड्रेस चेन्ज देखिएको छ । उनीहरु मधेसीको पहिरनमा गाउँघर (देहात) घुमिरहेका छन् ।

उनीहरुको स्वागतका लागि सडकमा बनाएको स्वागतद्वारमा पनि अध्यक्ष प्रचण्डले टाउकोमा गम्छा बेरेको तस्बिर राखिएको छ ।

अभियानका क्रममा अध्यक्ष प्रचण्ड नेतृत्वको टोली शुक्रवार साँझ सिरहाको भगवानपुर आइपुगे । उनीहरु भगवानपुरमै रात्रिबास बसे । आज विहान प्रचण्डसहितका नेताहरु हुलाकी सडकमा ‘मोर्निङ वाक’ गरे । त्यतिबेला सबै ट्रयाक लगाएका थिए ।

भगवानपुरबाट अध्यक्ष प्रचण्डसहितका नेताहरु मधेसीको पहिरनमा निस्के । अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, अग्नी सापकोटा, वर्षमान पुन र जनार्दन शर्मा सेतो कुर्ता, पैजमा र गम्छामा सजिएको देखिए । मधेस प्रदेश ईन्चार्ज मातृका प्रसाद यादवले भने धोती र कुर्ता लगाएका छन् ।

अध्यक्ष प्रचण्डसहितको टोली नवराजपुर गाउँपालिका १ भगवतीपुरस्थित बलात्कारपछि मृत्यूवरण गरेकी १७ वर्षीया रिंक सदायको घर पुगेर उनको आमा–बुवालाई भेटेर न्याय दिलाउने आश्वासन दिएका छन् ।

त्यसपछि सोनवर्षा, बरियारपट्टी, औरही र गणेशपुरमा स्थानीयसंग भेटघाट तथा सभा गरियो । सभामा अध्यक्ष प्रचण्ड मात्र संक्षिप्त सम्बोधन गर्छन् ।

औरहीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री बनेपछि हुलाकी राजमार्ग निर्माणको थालनी गरेको दावी गरे । उनले सम्झिए, ’यही बरियारपट्टीमा आएर हुलाकी सडक निर्माणको थालनी गरेको थिए । आज कालोपत्रेमा हिड्न पाउँदा खुशी लागेको छ ।’

उनले हुलाकी सडकमा जागरण अभियानको क्रममा जनताको समस्या सुन्ने गरेको र त्यसको सम्बोधन पनि गर्ने बताए । उनले मधेसी जनता र मधेसको समस्या बुझ्ने र सम्बोधन गर्ने/गराउने पार्टी माओवादी मात्र रहेको जिकिर गरे ।

अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरेर भ्रष्टाचारी, जाली र फटाहाहरुलाई कारबाही गर्न खोज्दा पुराना ठूला दलले जालझेल गरी सत्ताबाट निकालेको बताए । ०८४ को चुनावसम्म झालझेल गर्ने सबैलाई परास्त गर्ने उदेश्यले मेचीदेखि महाकालीसम्म जागरण अभियानमा निस्केको उनले बताए ।

उनले भने, ’देशमा गणतन्त्र र संघीयता ल्याउने, मधेसी जनताको हकहितका लागि लड्ने माओवादी नै हो । तर माओवादीविरुद्ध निकै जालझेल भयो । अब प्रतिक्रियावादी फटाहाहरुलाई ठेगान लगाउन तपाईहरुको सहयोग चाहियो । त्यसकै लागि हामी आएका छौं ।’

Scroll to Top